ढोरपाटन शिकार आरक्ष: एक परिचय – विमल पाण्डे

गण्डकी प्रदेश पर्यटन विशेष

– विमल पाण्डे, पोखरा ।

नेपालमा रहेका सबैजस्तो संरक्षित क्षेत्रहरु प्रायगरी दुर्लव वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरेको पाइन्छ।तर यी संरक्षित क्षेत्र मध्य पश्चिम नेपालमा धौलागिरीको काखमा अवस्थित ढोरपाटन शिकार आरक्ष मात्र यस्तो संरक्षित क्षेत्र हो जहाँ संरक्षण संग संगै वन्यजन्तुको व्यवस्थित शिकार गर्न पाइन्छ। नेपालका बीस संरक्षित क्षेत्र मध्य एक मात्र शिकार आरक्ष , ढोरपाटन शिकार आरक्ष धौलागिरी हिमालको दक्षिणी भेगमा रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाहरुमा १,३२५ वर्ग कि. मि. को क्षेत्रफलमा फैलिएको छ। समुन्द्री सतहवाट करिव २,७०० मि. देखि ५,५०० मि. उचाइ सम्म रहेको ढोरपाटन (ढोर:जलासययुक्त , पाटन:समथर जमिन)शिकार आरक्ष बिश्व प्रख्यात शिकारिहरुकालागी जीवनमा एक पटक पुग्नै पर्ने गन्तव्य हो।आरक्षको माथिल्लो हिमाली भेग वर्षैभरि हिउले छोपेको हुन्छ। सन्१९७६ मा नर्वेका एक प्राध्यापकले अध्ययनको क्रममा झारल र नाउरको संख्या धेरै मात्रामा भएकाले ढोरपाटन शिकार खेल्न सकिने सम्भावना बोकेको क्षेत्र भएको सुझाव दिएका थिए। यहि अध्ययन अनुरुप सन् १९८७ देखि ढोरपाटनलाई शिकारिहरुका लागि खुल्ला गरिएको थियो।

 

देशको हिमाली क्षेत्रमा अवस्थित ढोरपाटन शिकार आरक्षमा बिशेषगरी fir, सल्ला , सन्टी, लालिगुरास, हेमलक, खस्रु, धुपी, सजाना जस्ता वनस्पती पाइन्छ, भने उक्त क्षेत्र विशेष गरि नाउर, झारल , घोरल, हिमाली कालो भालु, मुनाल को वासस्थान हो। ढोरपाटन शिकार आरक्ष हाब्रे,मुनाल , कस्तुरी हिरन स्याल र डाफे जस्ता लोपउन्मुख वन्यजन्तुको लागि पनि प्रसिद्द ठाउँ हो।उक्त आरक्षमा ५८ जातिका सम्वहनी वनस्पती ,१३७ जातिका चरा, १८ जातिका स्तनधारि जनावर र २ प्रकारका घस्रने जीव पाइन्छन।आरक्षको मथिल्लो भेगको पचास प्रतिशत भन्दा बढी भाग घासेमैदानले समेट्छ।आरक्षमा शिकारका लागि वर्षेनि नाउर र झारलको कोटा तय गरिन्छ तर आरक्षमा रहेका घोरल , हिउँ चितुवा, हिमाली कालो भालु, लङुर लगायतका लोपउन्मुख वन्यजन्तुको शिकार गर्न निषेध गरिएको छ।

बिश्वमा कानुनी रुपमा शिकार गर्न पाइने सयौ शिकार आरक्षहरु भएता पनि बिश्व प्रख्यात शिकारिले भने नेपालको ढोरपाटन शिकार आरक्षलाई नै मुख्य गन्तव्यको रुपमा लिने गरेको पाइन्छ।यस आरक्ष बिशेषगरी नाउर र झारल शिकारका लागि बिश्व प्रसिद्ध शिकार आरक्ष हो। उच्च हिमाली क्षेत्रको भिरपाखामा विचरण गर्ने जंगली नाउर र झारल निकै ताठा एबम फुर्तिला वन्यजन्तु हुन। ढोरपाटन शिकार आरक्षमा मुख्य शिकार गरिने जनावर नाउर हो। समुन्द्री सतह देखि ५००० मि. भन्दा माथिका क्षेत्रमा पाइने नाउरको शिकार अत्यन्तै कष्टपुर्ण शिकार हो।त्यसैले नेपालमा नाउरको शिकार गर्नु संसारका शिकारिहरुका लागि सर्वोत्कृस्ट उपलब्धीको रुपमा मानिन्छ।त्यसैगरी नाउर पछिको महत्त्वपूर्ण शिकारको रुपमा झारल मानिन्छ।बिश्वमा पाइने तीन प्रकारका झारल( निलगिरी,अरेवियन र हिमालयन) को सिकार न्युजिल्यान्ड र इङ्ल्याण्डमा पनि गरिन्छ।तर नेपालमा जसरी प्राकृतिक रुपमा झारल बिश्वको अन्य देशहरुमा पाइदैन।समुन्द्री सतह देखि ३३०० मि. भन्दा माथिल्लो भेगमा पाइने झारलको शिकार गर्नु पनि अर्को साहसी कार्यको रुपमा लिइन्छ।

वन्यजन्तु शिकारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु बिभागबाट आवश्यक योग्यता र पद्धति बमोजिम अनुग्यापत्र प्राप्त गर्न सकिन्छ।आरक्षमा शिकारका लागि वर्षमा दुई पटक असोज देखि मङ्सिर र माघ देखि बैशाख सम्म शिकार गर्नका लागि नाउर र झारलको कोटा निर्धारण गरिन्छ ।आरक्षद्यारा टेन्डरको माध्यम बाट विभिन्न कम्पनिहरुलाइ शिकारका लागि अनुमति प्रदान गरिन्छ।अनुमती पाउन सफल कम्पनिहरुले शिकारका लागि पर्यटक आव्हान गर्ने गर्दछन।बिशेषगरी रुस, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन , क्यानडा , बेल्जियम लगायतका देशका प्रख्यात शिकारिहरु ढोरपाटन शिकार आरक्षमा शिकारका लागि आउने गरेको पाइन्छ।एउटा ऋतुमा एक नाउर र एक झारलको शिकार खेल्नलाइ कम्पनी मार्फत आउदा चालीस देखि पचास लाख सम्म खर्च लाग्ने गरेको पाइन्छ।

आरक्षलाई व्यवस्थापनका लागि सात वटा ब्लकमा बिभाजन गरिएको छ। दक्षिणी ब्लक:फागुने,वर्षे,घुस्ताङ र सुर्तिवाङ उत्तरी ब्लक: सेङ, दोघारी र सुन्दह

शिकारिहरुले शिकारका लागि आरक्षमा रहुन्जेल सम्मका लागि आवश्यक पर्ने खानाका सामाग्रीहरु, टेन्ट, प्राथमिक स्वास्थ्य उपचारका लागि औषधि र लट्टा कपडा आफै व्यवस्थापन गर्नु पर्दछ।पन्ध्र दिनको अनुमती सहित आएका शिकारिले जनावरको पानी पिउने समय, साझ- बिहान, पासो थापेर वा भाले र पोथी बिच शारिरिक सम्पर्क भैरहेको बेला सिकार गर्न पाउदैनन।आरक्ष भित्र हुने शिकारको निगरानिको लागि आरक्ष कार्यलयद्यारा कर्मचारी खटाइएको हुन्छ।
शिकारिले शिकार गरिएको नाउरको अखेटोपार आफ्नो देश लैजानका लागि CITES अर्थात संकटको सुचिमा रहेको वन्यजन्तु तथा वनस्पति बारेको अन्तरास्ट्रिय महासन्धि संग सम्बन्धित कार्यालयको अनुमती लिनु पर्दछ भने झारलको अखेटोपार लैजानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागको अनुमति आवश्यक पर्दछ।
ढोरपाटन शिकार आरक्ष अन्य विभिन्न आकर्षणले पनि महत्त्वपूर्ण मानिन्छ।आरक्षबाट धौलागिरीका अतिरिक्त गुर्जा र सिस्ने हिमालको मनमोहक दृश्य देख्न पाइन्छ।वास्तवमै ढोरपाटन मिश्रित संस्कृतिको नमुना पनि हो।बिशेषगरी , मगर, थकाली , ब्राह्मण , क्षेत्री , दलित र तिब्बतबाट आएका सरणार्थिहरुको सामुहिक थलो हो ढोरपाटन । यी मुख्य जातिहरु पशुपालनका माध्यमबाट आफ्नो गुजारा चलाउने गर्दछन। धार्मिक आकर्षणको पाटोबाट पनि ढोरपाटन एक महत्त्वपूर्ण स्थल मानिन्छ । आरक्षको फागुने ब्लकमा पर्ने उत्तरगङ्गा नदिको किनारमा अवस्थित “ढोरबराह”को मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि महत्त्वपूर्ण स्थल मानिन्छ। हरेक वर्षको जनै पुर्णिमाको अवसरमा ढोरबराहको मन्दिरमा धार्मिक मेला लाग्ने गर्दछ।
यी तमाम आकर्षणका बाबजुत पनि ढोरपाटन शिकार आरक्ष क्षमता अनुरुप आकर्षण एबम चर्चा बटुल्न भने सक्षम भएको छैन।भौगोलिक बिगतता यसको मुख्य समस्या हो। सही तथा उपयुक्त नीतिको कमिका साथै नीति बनाउने समयमा स्थानिय जनताको सहभागिता नहुनुले ढोरपाटन शिकार आरक्ष बिभिन्न समस्याको चङुलमा परेको छ।त्यसैले,स्थानिय एबम केन्द्रिय तह बाट नै विशेष ध्यान दिई ढोरपाटन शिकार आरक्षलाई व्यवस्थित एबम सुन्दर आरक्षको रुपमा बिकास गर्न सके राष्ट्रिय अर्थतन्त्रमा यसले अझै राम्रो भुमिका खेल्न सक्छ। यो स्थानिय बिकास एबम उन्नतिको कोशेढुङा सावित हुन सक्दछ।त्यसैले, ढोरपाटन शिकार आरक्षको उचित व्यवस्थापन र प्रचार हाम्रो दायित्व हो।यसलाइ राष्ट्रिय तहबाट नै महत्त्वको बिषयको रुपमा हेरिनु पर्दछ।

Leave a Reply

Your email address will not be published.