क्यान्सर रोगी बढ्दै

समाचार स्वास्थ्य

खलङ्गा, २५ माघ 

पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो ।

पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो । क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारले क्यान्सरसम्बन्धी नीति ल्याउनुपर्ने भन्दै उहाँले क्यान्सर लागेकालाई रु एक लाख दिएर क्यान्सर न्यूनीकरण गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

नेपालभरि क्यान्सरसम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख, घाँटी, पाठेघर र स्तनको क्यान्सर बढिरहेको जानकारी दिँदै रोकायाले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । अहिले सबैभन्दा बढी प्रमुख क्यान्सरको समस्या फोक्सो देखिएको उहाँको भनाइ छ । नेपालमा फोक्सो, पेट, आमाशय, मुख, पाठेघरको मुख, स्तनको क्यान्सर बढी हुने गरेको छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

जुम्लाको हकमा क्यान्सर रोगका बिरामीको उपचार गर्न नसकेमा राजधानीको भरतपुर वा चितवनको भक्तपुरमा पठाउँदै आएको रोकायाले बताउनुभयो । उहाँले मुलुकमा हप्तामा तीनदेखि पाँचजना क्यान्सरका बिरामीको अस्पतालमा मृत्यु हुने गरेको बताउनुभयो । नेपालमा वर्षेनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकको अनुमान छ । तर तीमध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । रोकायाले क्यान्सरलाई रोक्न जनचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले पनि चेतनाको अभाव र गरीबीका कारण ९० प्रतिशत क्यान्सर रोगी अस्पतालसम्म आउन नसकेको उहाँको भनाइ छ । जुम्लाको सन्र्दभमा बेलाबखत जनचेतनाका कार्यक्रम गर्दै आएको प्रतिष्ठानले जनाएको छ । नेपालमा हाल जनसङ्ख्याको आधारमा करीब ६५ हजार क्यान्सर रोगी छन् । नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ । रोकायाले क्यान्सर रोग विकसित मुलुकबाट अविकसित मुलुकमा देखा पर्दै गएको बताउनुभयो ।

चिकित्सकले धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको बताउँदै आएका छन् । सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहेमा क्यान्सरबाट हुने एक तिहाइ मृत्युलाई रोक्न सकिने रोकायाले बताउनुभयो । विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूमपान, सुर्ती, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । दश प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ । यसका साथै विकिरण, व्यवसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्बलतालाई पनि क्यान्सरका कारकका रूपमा लिइएको छ ।

क्यान्सरका लक्षणमा स्वर परिवर्तन हुनु, दुब्लाउँदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, थकाइ बढी लाग्नु, लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँुदा रगत बढी जानु जस्ता हुन् ।

(रासस ) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *