असिना पीडित किसानलाई राहत वितरण

गण्डकी प्रदेश समाचार समाज

पोखरा, ११ मंसिर

पोखरा महानगरपालिकाले वडा नम्बर २० स्थित आँटीघरका असिना पीडित किसानलाई मंगलबार राहत वितरण गरेको छ । गत कात्तिक २ गते परेको असिना पानीले साविक मौजा गाविसको खुमेकाभ्रे युम्दुपाखा र बिसौनामा ८० प्रतिशत धानबाली नष्ट गरेकाले महानगरको कृषि विकास महाशाखाको राहत प्याकेज सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङ लगायतले आँटीघरमा आयोजित कार्यक्रममा २६ किसानलाई राहत वितरण गरेका हुन् । कार्यक्रममा प्रमुख जिसीले जनतालाई स्थानीय सरकार भएको अनुभूति दिलाउन राहत वितरणको सुरुवात गरिएको बताए । क्षति भए अनुसार नै राहत वितरण दिन नसकेपनि थोरै मल्हम पट्टी लगाउने प्रयास महानगरले गरेको उनको भनाइ छ ।

उनले बाली नष्ट भएपछि राहत दिन भन्दा पनि किसानलाई बाली विमामा आकर्षित गर्न महानगरले योजना बनाउने बताए । साविक मौजा गाविसलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए । कार्यक्रममा पोखरा महानगरपालिका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले प्रति रोपनी १ हजारको दरले किसानलाई राहत वितरण गरेको बताए । उनका अनुसार २६ किसानलाई १ सय ५० रोपनीको १ लाख ५० हजार राहत वितरण गरिएको हो । रोपनी अनुसार किसानले २ हजारदेखि १० हजारसम्म राहत पाएका छन् ।

महानगरले पहिलो पटक असिना पीडित किसानलाई राहत वितरण गरेको बताउँदै उनले विमा बारे किसानलाई सचेतना जगाउन पर्ने बताए । उनले बाली बिमा गराउने बारेमा किसानलाई जागरुक गराउन कृषि महाशाखा लागि परेको बताए । गत कात्तिक २ गते असिना पानीले धानबाली नष्ट गरेपछि किसानले वडा कार्यालयमा निवेदन दिएका थिए । वडाले महानगरमा राहतको लागि सिफारिस गरेपछि कृषि विकास महाशाखाले प्राविधिक खटाएर त्यसको विवरण संकलन गरी राहत वितरण गरेको कडरियाले बताए । वडाध्यक्ष सीम गुरुङले मौजालाई प्रांगारिक कृषि उत्पादनको पकेट क्षेत्र बनाउन र व्यवसायिक रुपमा खेती गर्ने किसानलाई वडाले पनि सहयोग गर्ने बताए ।

किसानहरु मुक्तिराम पोखरेल, सोमनाथ पोखरेल, कृष्ण पोखरेल, चुडामणि पोख्रेल, भूमिनाथ पौडेल, रेवती पौडेल,दिलबहादुर विक,बलबहादुर परियार, गोबीरास परियार, गोपाल परियार, नवराज गुरुङ, नवराज पौडेल, देवीकुमारी गुरुङलाई राहत वितरण गरिएको हो । वीरकराज परियार, हुमबहादुर परियार, तिलबहादुर परियार, धनबहादुर गुरुङ, नन्द्रबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, धनबहादुर गुरुङ, दुर्गा गुरुङ, विष्णुबहादुर गुरुङ, धनबहादुर गुरुङ, चम्पासिंह गुरुङ, डम्बरबहादुर गुरुङ, आशबहादुर विकलाई राहत वितरण गरिएको हो ।

वडाध्यक्ष गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा नगरकार्यपालिका सदस्य मनबुजा विक, वडा सदस्यहरु भीमप्रसाद बास्तोला, लक्ष्मी सुवेदी, मोतीप्रसाद पौडेल, महानगर कृषि विकास महाशाखा प्रमुख कडरिया, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पोखरा महानगर संयोजक रामबहादुर हमाल, नेपाली कांग्रेस मौजा इकाइ सभापति तिलबहादुर गुरुङ, मौजा होमस्टेका अध्यक्ष गंगादेवी गुरुङ, कृषि प्राविधिक उमा पुन लगायतले किसानलाई राहत वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन किसान कृष्ण पोखरेलले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *