नेपाली प्रविधि क्षेत्रमा नयाँ आयाम थप्दै टाइपिङ सिक्न र स्पीड बढाउनका लागि नेपालमै निर्मित अनलाइन प्लेटफर्म ‘टाइपिङआउल‘ (TypingOwl) सञ्चालनमा आएको छ। प्रयोगकर्ताहरूलाई सहज, आकर्षक र अन्तरक्रियात्मक माध्यमबाट टाइपिङ सिकाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा नेपाली (प्रिती फन्ट) र अङ्ग्रेजी दुवै भाषामा अभ्यास गर्न सकिने सुविधा उपलब्ध छ। प्रयोगकर्ताले १ देखि २० मिनेटसम्मको टाइमर छनोट गरेर इजी (साधारण), मिडियम (मध्यम) र हार्ड (चुनौतीपूर्ण) गरी तीन डिफिकल्टी लेभलमा टाइपिङ अभ्यास गर्न सक्छन्। यसका साथै, डेटा इन्ट्री कार्यलाई सहज बनाउन फोन नम्बर, क्रेडिट कार्ड, मुद्रा, हिसाब-किताब, मिति र समय जस्ता विषयवस्तुहरूको छुट्टै अभ्यास गर्ने सुविधा र आँखाको सहजताका लागि टेक्स्ट साइज बढाउने-घटाउने विकल्प पनि दिइएको छ।
टाइपिङ अभ्यासलाई थप रोमाञ्चक र प्रभावकारी बनाउन प्लेटफर्ममा ‘बलुन ब्रस्ट’ र ‘टाइपिङ टेरिस्ट’ जस्ता मनोरञ्जक गेमहरू समावेश गरिएका छन्, जसले खेल्दै टाइपिङ स्पीड र शुद्धता बढाउन मद्दत पुर्याउँछन्। अभ्यासकर्ताहरूलाई प्रोत्साहन गर्न टाइपिङआउलले प्रमाणपत्रको समेत व्यवस्था गरेको छ, जसका लागि प्रयोगकर्ताले तीनवटै लेभलमा कम्तीमा ३५ WPM (Word Per Minute) को स्पीड प्राप्त गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा बढाउन यसमा विश्वव्यापी लिडरबोर्ड खुला गरिएको छ, जहाँ उत्कृष्ट नतिजा ल्याउने तीन जनालाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिन्छ। त्यस्तै, साथीहरू वा निश्चित समूहबीच प्रत्यक्ष टाइपिङ प्रतिस्पर्धा गर्न प्लेटफर्ममा साइन-इन गरी सार्वजनिक (Public) वा निजी (Private) मल्टिप्लेयर रुमहरू सिर्जना गर्न सकिने व्यवस्था छ।
टाइपिङ सिकाउने शिक्षकहरूका लागि यो प्लेटफर्म विशेष उपयोगी सिद्ध हुनेछ, जहाँ उनीहरूले ‘Get Pro’ मार्फत आवेदन दिएर भेरिफिकेसनपछि ‘टाइपिङ टिचर’को अनुमति पाउन सक्नेछन्। यो अनुमति पाएपछि शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई ग्रुपमा जोडी उनीहरूको दैनिक टाइपिङ प्रगति ट्र्याक गर्न र आवश्यक मार्गदर्शन प्रदान गर्न सक्नेछन्। सञ्चालकहरूका अनुसार भविष्यमा यस टाइपिङ टिचर मोडलाई थप व्यावसायिक रूपमा विस्तार गर्दै लैजाने योजना रहेको छ।



