गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने लक्ष्यसहित ‘माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना हुँदै; नेपालमा एनआइसी आइसीटी ल्याब पोखराले संयोजन गर्न

समाचार सूचना-प्रविधि

काठमाडौँ – विश्व प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले आगामी अप्रिल ८, २०२५ (चैत्र २६, २०८१) मा विश्वव्यापी रुपमा “माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना गर्ने घोषणा गरेको छ।

अष्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न हुने यो २४-घण्टे विश्वव्यापी कार्यक्रममा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स – एआइ) सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिने छ ।

उक्त कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले बहुस्तरीय अनलाइन कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी पाठ लिने गिनेस वर्ल्ड रेकर्ड्स (GUINNESS WORLD RECORDS™️) को उपाधि हासिल गर्न प्रयास गर्ने जनाएको छ । सिक्ने, प्रतिस्पर्धा गर्ने र कीर्तिमान समेत कायम गर्ने यो विश्वव्यापी उत्सवको हिस्सा बन्न माइक्रोसफ्टले संसारभरिका युवाहरुलाई आह्वान गरेको छ ।

नेपालमा राष्ट्रिय आविष्कार केन्द्र (ICT Lab Pokhara) संग सहकार्य गरी मनाउन लागिएको ‘माइक्रोसफ्ट एआइ फेस्ट नेपाल २०२५’ मा नेपाल भरिबाट अनलाइन र कम्तीमा एक हजार जना पोखरा, काठमाडौँ र दाङ्गमा प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ। ८ अप्रिलको कार्यक्रममा भाग लिने सबै सहभागीहरु ५०-दिनको निशुल्क एआई सिकाइ तथा शिक्षण यात्रामा सहभागी हुन पाउने छन्। ५० दिनको एआइ सिकाइ यात्रा

अप्रिल ८, २०२५ को उद्घाटन समारोहपछि, एआइ स्किल्स फेस्ट थप ५० दिनसम्म (मे २८, २०२५ सम्म) जारी रहनेछ, जसमा विविध सिकाइ अवसरहरू उपलब्ध हुने छन् । विद्यार्थी, शिक्षक, व्यवसायी, टेक पेशेवर लगायत एआइबारे जानकारी लिन चाहने जो कोहीले रोचक र चुनौतीपूर्ण तालिमहरू लिन पाउनेछन्। उक्त सिकाइ यात्रामा ह्याकाथनहरू, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम, ‘माइक्रोसफ्ट लर्न च्यालेन्जेज’ लगायतका थुप्रै गतिविधिहरूमा सहभागी हुन सकिने माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले बताए। ‘माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट’ मा यो फर्म https://forms.office.com/r/SctyW036b9. भरेर सहभागी हुन सकिने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *