बस दुर्घटनामा घाइते थप दुईको मृत्यु

समाचार

लहान, ७ मङ्सिर

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

पछिल्लो पटक आज बिहान घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो ।

साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । उक्त घटनामा यसअघि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो ।

सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना४ख ४८२५ नंको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९४० नंको मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्था रहेका तीन जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *