दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

लुम्बिनी प्रदेश समाचार

खस्यौली, १७ माघ 

आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ ।

प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५÷०७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै त्यस्तो योजना ल्याइएको बताउनुभयो ।

“पशु आहाराको व्यवस्थापन, नश्ल सुधार, पशु स्वास्थ्यमा सक्षमता, विभिन्न तालीम र बजारीकरणमार्फत प्रदेशलाई पशुजन्य पदार्थ उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । चार लाख नौ हजार ४३४ लिटर दूध उत्पादनको आवश्यक्ता रहेको यो प्रदेशमा अहिले तीन लाख ३१ हजार ३९२ लिटर दूध उत्पादन भइरहेको छ । अपुग भएको दूध आर्थिक वर्ष २०७५÷०७६ मा २० हजार लिटर र यसलाई वर्षेनी बढाएर लक्ष्य हासिल गरिने छ ।

६२ हजार ९०० मेट्रिक टन मासुको आवश्यकता हुने यो प्रदेशमा ५७ हजार ३३९ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । अपुग भएको मासु आव २०७५÷०७६ मा दुई हजार ५०० मेट्रिक टन आपूर्ति गरिने र यसलाई वर्षेनी बढाएर लक्ष्य हासिल गरिने छ । दुई लाख १५ हजार ९६५ अण्डा आवश्यक भएकामा अहिले एक लाख ५७ हजार २१ अण्डा प्रदेशमा उत्पादन भइरहेको छ । अपुग भएको अण्डालाई आव २०७५÷०७६ मा ३० हजार र त्यसपछि क्रमशः अण्डा उत्पादन बढाउने लक्ष्य लिइएको छ ।

त्यस्तै २२ हजार ४९६ मेट्रिक टन माछाको आवश्यक्ता हुने यो प्रदेशमा १२ हजार ३१३ मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । अपुग भएको माछा एक हजार मेट्रिक टन आव ०७५÷०७६ मा पूरा गरिने र यसलाई वर्षेनी बढाएर लगिने नीति रहेकोे पशुपक्षी तथा मत्यस निर्देशनालयले जनाएको छ ।

सो अवसरमा भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले अर्घाखाँचीमा बाख्राको स्रोत केन्द्र बनाउने तयारी भएको जानकारी दिँदै गोठ र बारीमा रहेका कृषकलाई सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव यमनारायण देवकोटाले मागमा आधारित कार्यक्रमलाई सम्बोधन गरिने बताउनुभयो ।

ह्याचारी सञ्चालक कमलकान्त गौतमले ह्याचरी र दानामा जथाभावी ढङ्गले मूल्य वृद्धि भएको उल्लेख गर्नुभयो । स्थानीय कृषक रवीन्द्र खड्काले कच्चा पदार्थमा परनिर्भर भएकाले उत्पादन लागत बढेको बताउनुभयो ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *