स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा २० सुझाव

समाचार सूचना-प्रविधि

काठमाडौँ, ८ पुस

पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मङ्सिर २६ गतेदेखि सुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ ।

काठमाडौँको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५” सुरु गरेको हो । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार विषय समेटिएका छन् । विषयमा रही महानगरलाई थप समृद्ध बनाउन जो कोही व्यक्ति वा संस्थाले आफ्नो क्षमता देखाउन सक्नेछन् ।

कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगाना www.kathmanduchallange.org मा लगअन गरी फाराम भर्न सकिने जनाएको छ । पहिलो चरणको फारामको ३२ दिनको समय दिइएको छ । कामपा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतका अनुसार छनोट गरिएका सबै विषयमा सुझाव आउने क्रम जारी छ । प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ । सबै चरण समापन गर्न करिब छ महीनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ ।

नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फाराम भर्न सक्नेछ । सङ्कलन भएका सुझावहरूबाट काठमाडौँको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।  (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *