बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा

समाचार

रुपन्देही, ५ मङ्सिर

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो ।

लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र ‘हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने छैन, पञ्चशील क्षेत्र घोषणा गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “बुद्धभूमि शान्त र सुन्दर छ, भनेर विश्वमाझ सन्देश दिन यो क्षेत्रमा पञ्चशीलको पालना जरुरी छ ।”

मन्त्री अधिकारीले कार्यक्रम घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै व्यवहारिक कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताउँदै उहाँले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी गर्नुभयो ।

गुरुयोजना पूरा गर्न ६ अर्बभन्दा बढी रकम लाग्छ, यसका लागि दाता खोजेर भए पनि पूरा गर्छौ, उहाँले भन्नुभयो,“यो पूरा भए मेरो जीवनको अर्थ रहन्छ । ”

कार्यकक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्ध धर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताउनुभयो ।

उहाँले पञ्चशीलको पालनाले हिंसाको अन्त्य भई समाज सुधार हुने बताउनुभयो । बुद्धको जन्मभूमि अत्यन्तै पवित्र भूमि हो, यहाँ हिंसा हुनु अशोभनीय हुन्छ, उहाले भन्नुभयो,“हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापानमा रोक लगाउँदा लुम्बिनीको गरिमा बढ्छ ।”

कार्यक्रममा प्रदेश नं ५ का सांसद फकरुद्धिन खानले प्रारम्भिक तयारी र छलफल बिना पञ्चशील घोषणा कार्यक्रम गरिएको भन्दै हतारमा गरिएको घोषण प्रभावकारी हुनेमा शङ्का व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, भिक्षुमैत्री महास्थवीर, लुम्बिनी विकास कोषका सहायक सूचना अधिकृत राजन बस्नेतले स्थानीय अजीज खाँनलगायतले लुम्बिनी क्षेत्रमा पञ्चशीलको पालना जरुरी रहेको बताउनुभयो । बुद्ध धर्मअनुसार हत्या, हिंसा, चोेरी, व्यभिचार र मदिरापान नगरेमा पञ्चशील पालना गरेको मानिन्छ ।

(रासस) ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *