पुस ११ देखि हात्ती महोत्सव

तस्बिर पर्यटन समाचार

चितवन, १६ मङ्सिर 

पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ ।

महोत्सवका क्रममा सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिनेछ । घिमिरेका अनुसार पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार गरी हात्तीलाई दबाब नभएर मनोरञ्जन दिँदै कार्यक्रममा सहभागी गराउन लागिएको छ । पशु अधिकारकर्मीले हात्तीलाई दबाबमूलक काम लगाएको भन्दै विरोधसमेत गरेका थिए ।

स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ । प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

भूूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकका कारण सुस्ताएको यहाँको पर्यटन व्यवसाय यस वर्ष उत्साहजनक देखिएको छ ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *