पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाइँदै

गण्डकी प्रदेश पर्यटन समाचार

पर्वत, २ पुस 

पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ ।

घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याएको हो । समुद्री सतहबाट दुई हजार २५९ मिटरको उचाइमा रहेको डहरेदेउरालीलाई चिडियाखाना बनाउन नगरपालिकाले चालू वर्षदेखि नै बजेटको व्यवस्था गरिएको जनाएको छ ।

नगरप्रमुख पदमपाणि शर्माका अनुसार यो अवधारणा मुलुकमै पहिलो हो । “तारबारले घेरिएका चिडियाखाना हामीले जहाँकहीँ देखेका छौ”, उहाँले भन्नुभयो, “वन्यजन्तुलाई खुलारूपमा संरक्षण गरेर अवलोकन गर्नसक्ने चिडियाखाना हाम्रो नयाँ अवधारणा हो ।”

स्थानीय जङ्गलमा पाइने जनावरको संरक्षण गरी पदयात्रीलाई सहजै जनावरको अवलोकन गर्ने गरी व्यवस्था मिलाइने उहाँले बताउनुभयो । डहरेमा दुईतर्फ चुच्चो परेका पहाडका टापुले यहाँको सौन्दर्यमा थप निखार ल्याएका छन् ।
स्याङ्जाको केही भागसँग जोडिएको डहरेमा फलेबास नगरपालिकाको १, २ र ९ वडामा फैलिएको घना जङ्गल छ । डहरेलेकमा कालो भालु, चितुवा, मृग, ब्वाँसोलगायत जङ्गली जनावर पाइने स्थानीयवासी बताउँछन् । त्यस्तै कालिज, लामपुच्छ«े, लुइँचे, तित्रा, ढुकुरलगायत चराचुरुङ्गी पनि पाइन्छन् ।

गुराँसले ढाकिएको यो क्षेत्रमा पुग्ने पर्यटक मनोरम प्राकृतिक सुन्दरतामा रमाउने गरेका छन् । वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरेदेउराली मन्दिरको प्रवद्र्धनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।

फलेबास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर ‘मनमोहन शान्ति बाटिका’ निर्माणको काम शुरु गरिरहेको छ । डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ उडान गर्ने गरी सम्भाव्यता अध्ययनसमेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताउनुभयो ।

डहरे क्षेत्रमै पर्ने फलेबास–२ खुमगाउँका ५० घरमा घरबास सञ्चालन भइसकेको छ । मगर समुदायको बाहुल्य रहेको खुममा आन्तरिक पर्यटक बढिरहेका छन् । डहरे पुग्न नेपालकै पहिलो घरबास गाउँ स्याङ्जाको सिरुबारीबाट दुई घण्टा पैदलयात्रा गर्नुपर्छ । (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *