पोखरा अब हिमाल र तालको सहरमा मात्रै सीमित नरही शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा समेत द्रुत गतिमा अघि बढिरहेको छ। अब पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश सूचना प्रविधि तथा डिजिटल उद्यमशीलताको नयाँ केन्द्रका रूपमा उन्मुख भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार पोखरामा भेला भएका नीति निर्माता र विज्ञहरूले गण्डकीलाई ‘डिजिटल हब’ बनाउन सकिने बलियो सम्भावना औंल्याएका छन्। युवा उद्यमी मञ्च पोखरा च्याप्टर र पोखरा रिसर्च सेन्टर द्वारा आयोजना गरिएको बहुसरोकारवाला संवादमा प्रदेशको समृद्धिका लागि सूचना प्रविधिलाई नै मुख्य कडी बनाउनुपर्ने साझा निष्कर्ष निकालिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधिको पनि मुख्य केन्द्र बनाउने अठोट व्यक्त गर्नुभएको छ। विगतमा बनेपामा बनाइएको आइटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असफल भएको उदाहरण दिँदै उहाँले पोखरामा त्यस्तो गल्ती नदोहोर्याउने र भवन मात्र नभई सिंगो सहरलाई नै ‘डिजिटल नोम्याड’ हरूका लागि उपयुक्त गन्तव्य बनाउने बताउनुभयो। होटल र सार्वजनिक स्थललाई डिजिटल प्रमाणीकरण गर्ने र आइटी क्षेत्रका लागि आवश्यक नीति बनाउन सरकारले अधिकतम लचकता अपनाउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइटी पार्कका लागि सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा काम गर्न महानगर तयार रहेको स्पष्ट पार्नुभयो। महानगरमा १ हजार ४ सय कर्मचारी भए पनि आइटीको एउटा पनि स्थायी दरबन्दी नहुनु दुखद भएको उल्लेख गर्दै प्रविधि बुझ्ने जनशक्ति नहुँदा काममा अवरोध आएको उहाँको भनाइ थियो। महानगरले १ लाख ५ हजार घरको नक्सा डिजिटलाइज गरिसकेको र २७ किलोमिटर क्षेत्रमा तार भूमिगत गरे पनि इन्टरनेट सेवा प्रदायकले बेलैमा चासो नदिँदा समस्या परेको जानकारी उहाँले दिनुभयो।
युवा पलायन रोक्न र आर्थिक अवसर बढाउन प्रविधिको उपयोगमा अन्य सरोकारवालाले समेत जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले रिमोट वर्कले गर्दा नेपालमै बसेर विश्वभरका काम गर्न सकिने र यसले युवा पलायन रोक्न सक्ने दाबी गर्नुभयो। नेपाल राष्ट्र बैंककी सहायक निर्देशक सुरागिनी सिंहले सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ को जोखिम औंल्याउँदै सीमापार कारोबार र वित्तीय साक्षरता बढाउन छुट्टै महाशाखा बनाएर काम गरिरहेको जानकारी दिनुभयो। युएनडिपी गण्डकी-लुम्बिनी फिल्ड प्रमुख सुदीप अर्यालले ‘डिजिटल गण्डकी’ सँगै ‘इन्टेलिजेन्ट गण्डकी’ को दिशामा अघि बढ्दै ‘ट्यालेन्ट इन्फ्रास्ट्रक्चर’ मा लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
गण्डकीलाई डिजिटल इकोनोमी हब बनाउन पोखरा रिसर्च सेन्टरका सुजन रेग्मीले नीतिगत सुधार, दक्ष जनशक्ति, पूर्वाधार, लगानीमैत्री वातावरण र एकीकृत कार्यमञ्च गरी ५ वटा खुड्किले मार्गचित्र प्रस्तुत गर्नुभयो। तर, हाल शिक्षा र बजारबीच ठूलो खाडल देखिएको छ। आइटी विज्ञ दिलीप श्रेष्ठका अनुसार नेपालको १ अर्ब डलरको आइटी निर्यातमा पोखराको हिस्सा ५ प्रतिशत मात्र छ। डेभलपर कम्युनिटी ज्याबा टेक का ताराप्रसाद गुरुङले पोखरामा वार्षिक ६ सय आइटी स्नातक उत्पादन भए पनि ६० प्रतिशत बेरोजगार रहेको तथ्यांक प्रस्तुत गर्नुभयो भने इन्टरनेट पूर्वाधार विज्ञ कृष्ण सुवेदीले ३२ प्रतिशत इन्टरनेट कर घटाउन माग गर्नुभयो।
सहरलाई प्रविधिमैत्री बनाउन विज्ञहरूले नवीन प्रस्तावहरू समेत अघि सारेका छन्। डिजिटल नोम्याड विज्ञ सचिन दागीले ‘वर्क फ्रम माउन्टेन्स’ को ब्रान्डिङ गर्नुपर्ने सुझाव दिनुभयो। अधिवक्ता हेमपाल श्रेष्ठले पोखरालाई ‘डिजिटल इनोभेसन हब’ बनाई मुख्यमन्त्री कार्यालय मातहत शक्तिशाली ‘डिजिटल एआई र इनोभेसन अथोरिटी’ गठन गर्नुपर्ने प्रस्ताव गर्नुभयो। अध्यागमन कार्यालय पोखराका अधिकृत सुमन भट्टराईले नोम्याड टुरिस्टका लागि छुट्टै भिसा जारी गर्ने कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। टेक कन्सल्टेन्ट हरि पहारी र टेक कन्सल्टेन्ट ,भर्चुअल टेक्नोलोजी प्रा .लि का संस्थापक, प्रकाश पौडेल, गण्डकी विश्वविद्यालयका डिन सरोज गिरी, ज्याबा टेक सुरेन्द्र तामाङ, पोखरा रिसर्च सेन्टरका प्रवेश सुवेदी लगायतले एआई, डेटा इन्जिनियरिङ र आइसिटीको प्रयोगबारे चर्चा गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै युवा उद्यमी मञ्च पोखराका अध्यक्ष इन्जिनियर सरोज कायस्थले प्राप्त सुझावहरूलाई सरकारका तीनै तहमा पुर्याएर कार्यान्वयनका लागि निरन्तर पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।






What do you feel about this post?
Like
Love
Happy
Haha
Sad

