उद्योग व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरणको माग

समाचार

पोखरा ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले उद्योग व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। जेन्जी आन्दोलनपछिको असहज अवस्था र त्यस क्रममा भएका घटनाक्रमका कारण उत्पन्न समस्याबारे संघले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापनपत्र बुझाएको हो।

संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले आन्दोलनमा भएको घुसपैठका कारण सरकारी कार्यालय, निजी आवास, तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटले लगानीकर्तामा निराशा फैलाएको बताए। उनले दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाही नभए उद्योगी–व्यवसायीको मनोबल कमजोर हुने र लगानीमैत्री वातावरण बन्न नसक्ने चेतावनी दिए।

संघले ज्ञापनपत्रमार्फत राजनीतिक स्थायित्व, भ्रष्टाचार न्यूनीकरण, दण्डहीनताको अन्त्य, तथा स्थायी बैंकिङ नीति निर्माण गर्न आग्रह गरेको छ। साथै, बैंक तथा वित्तीय संस्थाका अस्थिर नीतिका कारण लगानीमा त्रास बढेको भन्दै व्यवसायमैत्री बैंकिङ नीति लागू गर्न माग गरिएको छ।

संघका कास्की अध्यक्ष विष्णुबहादुर विकले उद्योग सञ्चालनमा बारम्बार आउने अवरोध रोक्न स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरे। ज्ञापनपत्रमा “जुनसुकै आन्दोलनका नाममा निजी, व्यावसायिक तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने अराजक तत्वविरुद्ध कठोर कानुनी कारबाही गर्न” माग गरिएको छ।

ज्ञापनपत्रमा २०७२ सालको भूकम्प, कोभिड–१९ महामारी र हालका आन्दोलनका कारण उद्योग–व्यवसाय र रोजगारीमा परेको असरको उल्लेख गर्दै, राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण बिना युवापलायन रोक्न नसकिने चेतावनी दिइएको छ।

त्यस्तै, विद्युत प्राधिकरण र उद्योगीबीचको विवादका कारण केही उद्योग बन्द भई सयौं मजदुर बेरोजगार बनेका र करिब ३०० मेगावाट विद्युत खेर गइरहेको दाबी गर्दै संघले वार्तामार्फत तत्काल समाधान खोज्न आग्रह गरेको छ।

अन्त्यमा, संघले सार्वजनिक लाभको पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नप्रदेश संरचना खारेज गरी स्थानीय विकेन्द्रिकरणमा आधारित एकात्मक शासन प्रणाली लागू गर्न पनि माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *